1

काठमाडौँ — Telegram मार्फत नाबालिकाको अन्तरङ्ग तस्बिर तथा भिडिओ सार्वजनिक गरी चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–८ स्थायी घर भई हाल काठमाडौँ बस्दै आएका २२ वर्षीय अशोक लामा रहेका छन्। उनलाई नेपाल प्रहरी साइबर ब्युरो ले आइतबार काठमाडौंबाट पक्राउ गरेको हो।

ब्युरोका अनुसार नाबालिकाको अन्तरङ्ग तस्बिर तथा भिडिओ टेलिग्राम अकाउन्टमार्फत प्रसारण भइरहेको थियो। उक्त घटनाबारे पीडितले आफ्ना Instagram मा जोडिएका साथीमार्फत जानकारी पाएकी थिइन्।

जानकारी पाएपछि पीडितले अनुसन्धान तथा दोषीमाथि कारबाहीको माग गर्दै साइबर ब्युरो, भोटाहिटीमा निवेदन दिएकी थिइन्। सोही निवेदनका आधारमा गरिएको प्राविधिक अनुसन्धान र विश्लेषणपछि उक्त घटनामा अशोक लामाको संलग्नता पुष्टि भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका लामाविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरी कारबाही अगाडि बढाइएको छ।

ब्युरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दीपकराज अवस्थी का अनुसार आरोपीलाई सोमबार काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।

यस प्रकारका साइबर अपराधका घटनाले डिजिटल प्लेटफर्मको दुरुपयोगप्रति चिन्ता बढाएको छ भने प्रहरीले यस्ता गतिविधिविरुद्ध कडा कारबाही गर्ने चेतावनी दिएको छ।

himalayan digital solution

Leave a Reply

Your email address will not be published. Required fields are marked *