nepal airline

नेपाल एयरलाइन्सले पश्चिम एसियामा उत्पन्न यात्रा अवरोधका कारण प्रभावित नेपाली नागरिकलाई लक्षित गर्दै शुक्रबारदेखि खाडी मुलुकहरूमा विशेष उडान सञ्चालन सुरु गरेको छ।

परराष्ट्र मन्त्रालय का अनुसार परराष्ट्रमन्त्री शिशिर खनाल को पहलमा अप्रिल ३ देखि ५ सम्म विशेष उडान सञ्चालन गरिएको हो। यससम्बन्धी निर्णय चैत १८ गते आयोजित उच्चस्तरीय बैठकपछि गरिएको थियो। बैठकमा परराष्ट्र मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण तथा नेपाल एयरलाइन्सका अधिकारीहरूको सहभागिता रहेको थियो।

पश्चिम एसियामा बढ्दो तनाव र सुरक्षा चिन्ताका कारण फागुन १६ गतेदेखि खाडीका विभिन्न गन्तव्यमा नियमित उडानहरू स्थगित भएका थिए। त्यसपछि नेपाली यात्रुहरूको आवागमन सहज बनाउन सरकारले विशेष उडानको व्यवस्था गरेको हो।

कार्यतालिका अनुसार अप्रिल ३ मा काठमाडौं–दुबई (RA 229) उडान सञ्चालन भइरहेको छ भने अप्रिल ४ मा दुबई–काठमाडौं (RA 230) उडान तय गरिएको छ। त्यसैगरी अप्रिल ५ मा काठमाडौं–दम्माम (RA 241) र दम्माम–काठमाडौं (RA 242) उडान सञ्चालन हुने जनाइएको छ।

मन्त्रालयले विशेष उडान व्यवस्थापनमा सहयोग गरेकोमा नेपाल एयरलाइन्सप्रति आभार व्यक्त गर्दै बीमा व्यवस्थापनमा सहयोग पुर्‍याएको राष्ट्रिय बीमा कम्पनी लिमिटेड लाई पनि धन्यवाद दिएको छ।

यसअघि अप्रिल १ मा कुवेत एयरवेज को उडान गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा अवतरण गरेको थियो। उक्त उडानमार्फत २९१ यात्रु र कुवेतमा अन्य कारणले निधन भएका नौ नेपाली नागरिकको शव नेपाल ल्याइएको थियो।

सरकारले नेपाली नागरिकको हित संरक्षण तथा अन्तर्राष्ट्रिय हवाई सम्पर्क निरन्तर कायम राख्न सम्बन्धित निकायहरूसँग समन्वय जारी राख्ने जनाएको छ।

himalayan digital solution

Leave a Reply

Your email address will not be published. Required fields are marked *