कम्बोडियामा अलपत्र परेका थप तीन नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फिर्ता गरिएको छ। बैंककस्थित नेपाली दूतावासको पहल र कम्बोडियाली निकायहरूको सहयोगमा उनीहरूलाई नेपाल ल्याइएको हो। दूतावासका अनुसार ती नेपालीहरू एजेन्टको प्रलोभनमा परेर कम्बोडिया पुगेका थिए। त्यहाँ पुगेपछि उनीहरूलाई अवैध अनलाइन ठगी केन्द्र, क्यासिनो तथा अन्य गैरकानुनी गतिविधिमा संलग्न हुन बाध्य पारिएको थियो। केही व्यक्तिहरू वैध भिसाबिनै बसोबास गरिरहेका पनि भेटिएका थिए। उद्धार गरिएका तीन जना अप्रिल २ मा कम्बोडियाबाट प्रस्थान गरी आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्। उनीहरूको फिर्तीमा गैरआवासीय नेपाली संघ (NRNA) कम्बोडियाले सहजीकरण गरेको दूतावासले जनाएको छ। पछिल्लो एक महिनामा मात्रै कम्बोडियाबाट १२७ नेपाली नागरिकको उद्धार गरिएको दूतावासले जनाएको छ। अन्य कठिन अवस्थामा रहेका नेपालीहरूको उद्धार तथा स्वदेश फिर्ताका लागि पहल जारी रहेको पनि दूतावासले उल्लेख गरेको छ। दूतावासले कम्बोडियामा रहेका, विशेषगरी भिसाबिनै बसिरहेका वा समस्यामा परेका नेपालीहरूलाई तत्काल दूतावास वा NRNA प्रतिनिधिसँग सम्पर्क गर्न आग्रह गरेको छ। साथै, धेरै पीडितले कम्पनीहरूले राहदानी जफत गरेको वा स्थानान्तरणका क्रममा हराएको जानकारी दिएको भन्दै त्यस्ता अवस्थामा स्वदेश फर्कन निःशुल्क एकतर्फी यात्रा अनुमति पत्र उपलब्ध गराइने जनाएको छ। दूतावासले पुनः आग्रह गर्दै श्रम स्वीकृति बिना वैदेशिक रोजगारीका लागि विदेश नजान र छिटो आम्दानीको झुटो प्रलोभनमा नपर्न नेपाली नागरिकलाई सचेत गराएको छ। विशेषगरी कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्ड जस्ता मुलुकतर्फ रोजगारीको नाममा हुने ठगीप्रति सतर्क रहन आग्रह गरिएको छ। Post Views: 99 Post navigation यात्रा अवरोधबीच नेपाल एयरलाइन्सको खाडीमा विशेष उडान सुरु मध्यपूर्वमा बढ्दो तनावबीच नेपाल सरकारद्वारा तीन दिन विशेष उडान सञ्चालन