Flight details

मध्यपूर्वमा बढ्दो तनाव र बिग्रँदै गएको सुरक्षा अवस्थाका बीच नेपाल सरकार ले आजदेखि तीन दिन विशेष उडान सञ्चालन गर्ने घोषणा गरेको छ। प्रभावित नेपाली नागरिकको आवागमन सहज बनाउन उक्त निर्णय गरिएको हो।

परराष्ट्र मन्त्रालय का अनुसार अप्रिल ३ देखि ५ सम्म विशेष उडान सञ्चालन गरिनेछ। यो निर्णय चैत १८ गते बसेको उच्चस्तरीय बैठकपछि गरिएको हो। बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण तथा नेपाल एयरलाइन्स का प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

पश्चिम एसियामा बढ्दो तनाव र सुरक्षा चिन्ताका कारण फागुन १६ गतेदेखि खाडी मुलुकहरूमा नियमित उडान प्रभावित भएका थिए। यसले गर्दा काम, अध्ययन तथा अन्य प्रयोजनका लागि आवागमन गर्ने नेपाली नागरिक प्रभावित बनेपछि सरकारले विशेष उडानको व्यवस्था गरेको हो।

निर्धारित तालिका अनुसार अप्रिल ३ मा काठमाडौं–दुबई (RA 229) उडान सञ्चालन हुनेछ भने अप्रिल ४ मा दुबई–काठमाडौं (RA 230) उडान हुनेछ। त्यसैगरी अप्रिल ५ मा काठमाडौं–दम्माम (RA 241) र दम्माम–काठमाडौं (RA 242) उडान सञ्चालन गरिनेछ।

सरकारले प्रभावित नेपाली नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउन सम्बन्धित निकायसँग समन्वय जारी राखेको जनाएको छ। साथै, आवश्यक परे थप विशेष उडान सञ्चालन गर्न सकिने पनि मन्त्रालयले जनाएको छ।

सरकारले मध्यपूर्वस्थित नेपाली नागरिकलाई सुरक्षा अवस्थाबारे सचेत रहन र आवश्यक परे दूतावाससँग सम्पर्क गर्न आग्रह गरेको छ।

himalayan digital solution

Leave a Reply

Your email address will not be published. Required fields are marked *