गोरखा, चैत्र ७ – गोरखाको गण्डकी गाउँपालिका–५ दर्वुङकी शोभा खनाल पर्यटन उद्यमीबाट राष्ट्रिय राजनीतिमा प्रवेश गर्दै संसदसम्मको यात्रा तय गरेकी छन्। लामो समय पर्यटन क्षेत्रमा सक्रिय रहेकी खनाल अब जनप्रतिनिधिका रूपमा विकास र सुशासनका मुद्दा उठाउने तयारीमा छिन्। सानैदेखि समाजसेवा र राजनीतिप्रति रुचि राख्ने खनाल पारिवारिक रूपमा पनि राजनीतिक वातावरणमा हुर्किएकी हुन्। स्थानीय महिला समूह र विद्यालय व्यवस्थापन समितिमा आमाको सक्रियताले उनलाई समाजसेवामा प्रेरित गरेको बताइन्छ। प्रारम्भिक शिक्षा गोरखामै पूरा गरेपछि उनले काठमाडौंमा उच्च शिक्षा हासिल गर्दै राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी छन्। शिक्षा पूरा गरेपछि उनी पर्यटन क्षेत्रमा प्रवेश गरिन् र करिब १५ वर्ष यस क्षेत्रमा सक्रिय रहिन्। उनले आफ्नै पहलमा विभिन्न ट्राभल तथा ट्रेकिङ कम्पनी स्थापना गर्दै महिला उद्यमीको रूपमा पहिचान बनाइन्। जेनजी आन्दोलनपछि खनाल सक्रिय राजनीतिमा प्रवेश गरिन्। सुशासन र भ्रष्टाचारविरुद्धको आवाजले प्रभावित बनाएको बताउँदै उनले देशमा परिवर्तनका लागि प्रत्यक्ष सहभागिता आवश्यक ठानेर राजनीति रोजेको बताइन्। त्यसपछि उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध भइन् र समानुपातिक प्रणालीमार्फत संसद् यात्रा सुरु गरिन्। निर्वाचन अभियानका क्रममा गोरखाका विभिन्न गाउँ पुग्दा उनले विकासका आधारभूत आवश्यकताहरू अझै अपुग रहेको नजिकबाट अनुभव गरिन्। सडक, स्वास्थ्य र शिक्षाजस्ता क्षेत्रमा सुधार आवश्यक रहेको उनले औंल्याएकी छन्। खनाल बूढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रकी बासिन्दा पनि हुन्। सो आयोजनालाई अगाडि बढाउने विषयलाई उनले आफ्नो पहिलो प्राथमिकता बनाउने बताएकी छन्। डुबानका कारण प्रभावित क्षेत्रका बासिन्दाले भोगिरहेका समस्या समाधान गर्न संसदमा आवाज उठाउने उनको प्रतिबद्धता छ। यससँगै, लामो अनुभव रहेको पर्यटन क्षेत्रको विकासमा पनि उनले विशेष ध्यान दिने बताएकी छन्। पर्यटनलाई व्यवस्थित र सुदृढ बनाउँदै देशको अर्थतन्त्रमा अझ मजबुत योगदान पुर्याउने दिशामा काम गर्ने उनको योजना रहेको छ। पर्यटन उद्यमीदेखि संसदसम्मको यात्रा तय गरेकी शोभा खनाल अब जनताको अपेक्षा पूरा गर्ने चुनौतीसहित नयाँ भूमिकामा अघि बढेकी छन्। Post Views: 36 Post navigation खोटाङमा हेलिकप्टर दुर्घटना, एक जना घाइते नेपालमा सुनको मूल्यमा ठूलो गिरावट, लगातार दोस्रो दिन घट्यो